Sunday, November 17, 2013

ठट्टा ठट्टामा !!

ठट्टा ठट्टामा जन्मिएको हामी
ठट्टा ठट्टामा हुर्किएको हामी
ठट्टा ठट्टामा
आफ्नो अस्तित्व
गुमाइ रहेका हामी

सनातन देशप्रेम
अबिच्छिन्न देशभक्ती
आशाका त्यान्द्राहरु
थाम्दै, छाम्दै
उकाली, ओराली
छहरा, पहरा
चहार्दै, छिचोल्दै
ठट्टा ठट्टामा उद्देलिएका हामी
आफ्नै खुट्टा जेलिएर हामी

देश बनाउने जोहो गर्न
देशनै टुक्र्याएर
हाटमा बेचेका हामी
क्रमश: गर्तमा
खस्किदै हामी
देशद्रोही
अगुवाहरुको
जालमा फस्दै हामी
पटक पटक
धोखा पाउदा पनि
बथानमा हिंडेका भेंडा हामी
रच्छयानमा
गजगजिएका किरा हामी

ठट्टा ठट्टामा
जन्मिएको हामी
हुर्किएको हामी
अवसानका
नजिक पुगेका हामी
ठट्टा ठट्टामा !!
ठट्टा ठट्टामा !!
:: मंसिर ०२, २०७० ::

No comments:

Post a Comment