Sunday, November 17, 2013

ठट्टा ठट्टामा !!

ठट्टा ठट्टामा जन्मिएको हामी
ठट्टा ठट्टामा हुर्किएको हामी
ठट्टा ठट्टामा
आफ्नो अस्तित्व
गुमाइ रहेका हामी

सनातन देशप्रेम
अबिच्छिन्न देशभक्ती
आशाका त्यान्द्राहरु
थाम्दै, छाम्दै
उकाली, ओराली
छहरा, पहरा
चहार्दै, छिचोल्दै
ठट्टा ठट्टामा उद्देलिएका हामी
आफ्नै खुट्टा जेलिएर हामी

देश बनाउने जोहो गर्न
देशनै टुक्र्याएर
हाटमा बेचेका हामी
क्रमश: गर्तमा
खस्किदै हामी
देशद्रोही
अगुवाहरुको
जालमा फस्दै हामी
पटक पटक
धोखा पाउदा पनि
बथानमा हिंडेका भेंडा हामी
रच्छयानमा
गजगजिएका किरा हामी

ठट्टा ठट्टामा
जन्मिएको हामी
हुर्किएको हामी
अवसानका
नजिक पुगेका हामी
ठट्टा ठट्टामा !!
ठट्टा ठट्टामा !!
:: मंसिर ०२, २०७० ::

Wednesday, November 06, 2013

नखोलिएको चिठ्ठी

(खेस्रा संस्करण)
चिठ्ठी नं. १

आदरणिय बा, आमा
सादर ढोग । अरबको बसोवास पनि आज ५ बर्ष पुग्यो । यतिका दिन सम्म अरबको रेगिस्तानी घाममा रगत पगालेको उपलब्धीहरु धेरै नभए पनि साहुको ऋण चुक्ता भयो, एक पटक बिदा आउदा सबै संगै रहेर गरेको रमाइलो क्षणको संगालो बाहेक हाथमा फुट्टी कौडी बचेन् । अब अझै यो तातो रापमा पोलिने मन छैन मेरो । त्यसैले मैले फर्किने निधो गरे बा, आउने महिना घर फिर्दै छु । म अझै पनि शाररिक र मानसिक रुपले स्वसथ छु र आफ्नै माटोमा केहि गर्न सकिन्छ कि भनेर मेरो आशा जिवितै छ ।
हजुरहरुको सल्लाहको अपेक्षा गरेको छु ।
"सन्तबहादुर"

जवाफ:
प्रिय छोरा सन्ते,
चिरणजिवी भएस्
चिठ्ठी पाएँ, तिम्रो सकुशलताको खबर पाउदा मन खुशी भएको छ, आमाले नि आशिर्बाद भनेछिन् । आउने महिना बिदामा आउने कुराले सबै खुशी छन् । घरको छानो चुहिने भएको छ, खरले छाउन धेरै महंगो र झिझलो हुन्छ, बरु एकै पटकको दुखले कर्कट हाल्दा नि हुन्थ्यो, सबैले पक्की घर बनाउने सल्लाह दिन्छन्, तं नि यतै आउदैछस्, तर अब तेरो यहाको आम्दनीले के पक्की घर बनाउन पुग्ला । एउटा ओत त जसरी नि चाहिन्छ, तै पनि आफै बिचार गर्नु ।
ईति:

चिठ्ठी नं. २

आदरणिय बा, आमा
सादर ढोग । अरबको रेगिस्तानी बसोवास १० बर्ष पुग्यो । अब मेरो घर फर्किन मन छ । पक्की घर नि बनि सक्यो, बरु म संग अलि बचत पनि छ । घर खर्च लाई ट्याक्सी चलाउने बिचार गरेको छु । अब यो उखरमाउलो गर्मी देखि आजित भै सकेको छ यो मन, अघिल्लो महिना आउने बिचार गरेको छु ।
हजुरहरुको सल्लाहको अपेक्षा गरेको छु ।
सन्तबहादुर

जवाफ:
प्रिय छोरा सन्ते,
चिरणजिवी भएस्
तिम्रो सकुशलताको खबर पाउदा मन खुशी भएको छ, हाम्रो जिबनयापनको निमित् तिमीलाई मात्रै सानै देखि धेरै दुख भयो, यतिका दिन सम्म बाहिर बसिस, सबै घर ब्यबहार चलाइस । एउटा कुरा बरु तलाई थाहा भयो कि नाई, कसले भनोस पनि, गको महिना बहिनिलाई मांग्न केटा आ'को थियो, केटो असल छन, हामीलाई मन पनि परेको छ, बहिनिको नि उमेर बढ्दो छ, अब आउने २ माहिना मा २० लाग्छीन् । हामी बुढो ज्यानको अब के भर छ र', कन्यादान गर्न पाए बैतर्नि नि सजिलै हुन्थ्यो । विहा खर्चको जोहो कसरि हुने होला भने चिन्ता नलिएस, तर अरू उपाय पनि त छैन्, अरु अब तँ नै जान्ने छस् बिचार गर के कसरी मिलाउने हो । हाम्लाई तँ आउदैछस् भन्ने थाहा पाएर एकदम खुसि लाएको छ ।
ईति:
  
चिठ्ठी नं. ३

प्रिय पार्बती,
सौभाग्यबती भएस, आदरणिय बा/आमा लाई सादर ढोग सनाईदिनु । १४ बर्षे रेगिस्तानी बसाईले सब थोक पुग्यो, बहिनिको विवाह, घर आँगन, भगवानको कृपाले सब थोक भयो, अब अरु शरिरले साथ दिन गाह्रो होला जस्तो छ, पथ परहेजले ब्लडप्रेसर त कन्ट्रोल नै छ तर मधुमेहले गर्दा बेला बेला ज्यानलाई असहज हुदै गा'छ उतै आयुर्बेदिक उपचार गराउने मन छ । अबको दुई हप्ता पछि आउने बिचार गरेको छु, सानो तिनो ब्यापार ब्यबसाय उतै गर्नु पर्ला ।
आफ्नो बिचार लेखी पठाउनु ।
तिम्रै सन्तु ।

जवाफ:
ज्यू हजुरमा ढोग छ ।
बा आमा सञ्चै हुनु हुन्छ, हाम्रो पिर नलिनु होला । हजुर आउने कुरा सुनेर मेरो खुसीको सिमाना नै छैन, विवाह गरेको साढे दुई बर्ष भइसक्यो, भोली पर्सी बाल बच्चा होला, हाथमा जगेडा दुई पैसा भएन भने उनको भविष्य के होला, यहाँको कमाई ले घर त जसो तसो चलाउला, आफैलाई चाहिने पथ, बुढा बा-आमाको औषधी त कसरी पुग्ने होला । तै पनि हजुर पिर नलिनुस, भगवानले केहि न केहि उपाय लगाउनु हुन्छ । हजुर चाडै आउने कुराले हामी सबै हर्षित छौ ।
हजुरकै पारु !


चिठ्ठी नं. ४

प्रिय पार्बती,
सौभाग्यबती भएस, अब उन्नतिस बर्ष पुरा भयो यो अन्कन्टार रेगिस्तानमा । अब त ज्यानलाई पनि खान्की भन्दा दवाई-दारु धेरै चाहिने रहेछ । भगवानको कृपाले अब सब थोक पुग्यो हामीलाई । मेरो कम्पनी बाट अली अली पैसा नि आउछ, अब उतै केहि गर्नु पर्ला । अब घरै बस्छु, परिवार बाल बच्चा, इस्ट मित्र नाता गोता मैले केहि नि थाहा पाउन सकिन, केहिको अनुभव गर्न सकिन् । अब भो, म आउछु चाडै, तिम्रो अनि बच्चाहरुको अनुहार हेरेर बाँकी जिवन कटाउछु ।
सन्त बहादुर

जवाफ:
ज्यू हजुरमा ढोग छ ।
हजुर आउने कुराले एकदम खुसी लाइ'राखेको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला । छोराको आगुम एसऐलसी छ, फेरि अर्को बर्ष कान्छी नि लगालग क्याम्पस पठाउनु पर्ने होला । पढन् जान्ने छन् केटा-केटी पुर्याउन त जसरी पनि सक्नु पर्यो नि, पछि काठमाणडौं पढ्ने खर्च के गरि पुर्याउने होला । यहि कुराले अली मन कटकट खा'को मात्रै हो । हजुर आउने घडीको हामी प्रतिक्षा गर्दै बसी रा'छौं ।
हजुर कै पारु ।

चिठ्ठी नं. ५

प्रिय पार्बती,
घर जाने बिदा पाकेको महिना ४० साल पुरा हुन्छ । अब त खै घामले नि पोल्न छोड्यो, मनले मात्रै पोल्छ । छोरा ईञ्जिनेर भएछ, देशमा कुनै काम न पाएर अरब तिर नै आउने भनेछन् अम्रिका पठाउने हाम्रो भाग्य कता बाट होस । ठिकै छ नि छोरोले नि हेरोस बाउ कस्तो ठाँउमा बस्दा थिए । नातिको मुख हेर्न साईत पो कहिले होला, छोरी बडो न्यास्रो मानेकि थिइन, पोहोर बिहाको बेला गर पुग्न नसेकोमा ।

जे होस सब राम्रै भो' भगवानको कृपाले । अलि दम ले दुख दिन्छ ए.सी.को चिसोमा, बातरसको त चिन्ता छैन्, तोरी तेलमा मेथी पकाएर अलि मालिस गरे पछि सञ्चो हुन्छ ।

***************
सन्तबहादुर काठमाण्डौं बिमानस्थलबाट बसपार्कको होटेल पुगे पछि ट्याक्सीलाई पैसा दिन भनि खल्तिमा हाथ हाल्दा पैसा संग एउटा "नखोलिएको" चिठ्ठी थियो, मनले मानेन खोलेर पढौ झै लाग्यो, त्यहि भुंईमा थचक्क बस्यो, मोडिएका चिठ्ठी हाथमा खेलाउदै बसि रह्यो ।

Sunday, November 03, 2013

"देउसी रे"

ए भन भन भाई हो #देउसीरे
ए राम्ररी भन #देउसीरे

ए स्वर मिलाइ कन #देउसीरे
ए भन न भन #देउसीरे

ए रातो माटो #देउसीरे
ए चिप्लो बाटो #देउसीरे

ए लड्दै पड्दै #देउसीरे
ए आएका हामी #देउसीरे

ए केरा को थाम्बा #देउसीरे
ए दश भाई जम्मा #देउसीरे

ए हामी म आफै #देउसीरे
ए आएका होईनौ #देउसीरे

ए बली महाराज को #देउसीरे
ए हुकुम मा हुंदा #देउसीरे
ए आई पुग्यौ हामी #देउसीरे

ए साइकलको घण्टी #देउसीरे
ए छिटो गर्नु अण्टी #देउसीरे

ए कमिलाको ताँती #देउसीरे
ए सुकि सक्यो घाँटी #देउसीरे

ए घोडा बस्ने तवेला #देउसीरे
ए हामीलाई भयो अबेला #देउसीरे

ए झिलमिली झिलमिली #देउसीरे
ऐ के को झिलमिली #देउसीरे
ए बती को झिलमिली #देउसीरे
ए फूलको झिलमिली #देउसीरे