Thursday, January 03, 2019

अनउत्प्रेरक आख्यान - "नथिया"

आख्यानहरु जुनसुकै भाषा र बिषयमा भए पनि पुस्तकको रुपमा बाजारमा आई सके पछि त्यो एउटा अभिलेख हुन जान्छ । हामीले पचास / सयबर्ष अघि लेखिएका बिभिन्न लेखकका किताब पढिकन त्यो बेलाको समाजको आकलन गरेका हुन्छौ, त्यो बेलाको रहनसहन बुझ्ने सानो मद्दत पाएका हुन्छौ । चलनचल्तीका भाषामा प्रयोग हुने अँग्रेजी लगायतका अन्य भाषिक शब्दहरु भन्दा पनि त्यसको उचित उच्चारण र शब्दार्थका आफ्नै भाषाको प्रयोग गरि आगुम पुस्तालाई आख्यानको रुपमा एउटा शब्दकोश पनि उपहारमा दिइ रहेका हुन्छौ । हाम्रो मौलिक शब्दहरु
आगुम अनेकौ दशक वा शताब्दी सम्म सँगाल्न एक प्रकारले सहयोग गरिरहेका हुन्छौ । तर अचेलका नाम चलेका लेखकहरुमा समेत त्यो चेत छैन, पाईदैन । यस किताबमा पनि पाईएन ।

कथामा राम्रो पकड भएता पनि स्थानिय भाषाको अत्यधिक प्रयोगले पढन/बुझ्न असजिलो । फ्रेञ्च, स्पेनिस मुल किताबका अँग्रेजी संस्करणमा पनि कथाको औपचारिकताको लागि फ्रेञ्च, स्पेनिसका वाक्यहरु लेखिए पनि हालको पाठकहरुको लागि बुझ्ने गरि अनुवाद गरिएको हुन्छ । त्यो चेत लेखक / प्रकाशकमा पाईएन 

संभवत: हाम्रो उमेर ढल्किएर हामी नया जमानाका बोलचालमा समायोजन हुन नसकेको कारण पनि हुन सक्छ । हाम्रो बुझाईमा हामी जुन शब्द/भाषा घरमा आमा बुवा, दिदी बहिनी, दाई भाई, छोरा छोरी वा इष्टमित्रको अगाडी ढुक्कले बोल्न लाज मान्छौ त्यो शब्द लेखकले कथा बिष्लेशन वा बिबेचना गर्दा प्रयोग गरिदा अवास्तविक देखिन्छ । पात्रको संवादमा आबश्यकता अनुसारका कडा शब्द पनि पाठकले पचाउछन तर बक्ताले त्यही भाषा प्रयोग गर्दा आफ्नो स्तर तल गई रहेको हुन्छ । पाठकले लेखकलाई सम्मान गर्ने दृष्टीकोणमा ह्रास आईरहेको
हुन्छ । बुनेका कथा उध्रिदै जान्छ, कथाका परिकल्पना निराधार हुन जान्छ ।

अन्तिममा लेखकले दिएको पुर्वजका संबद्ध संदर्भ भ्रामक र अविश्वास्य
जगाउने खालका छन, उल्लेख गरिएको कालहरुमा पनि कुनै समानता छैन । किताब छपाएर लाखौ प्रती बेच्ने, किने पछि पाठकले पढने नयाँ कुरा होइन । अचेलका प्रकाशकले गर्ने गर्जनात्मक बिज्ञापणले हामी जस्तो पाठक रनभुल्ल पर्न स्वाभाविक हुन जान्छ । तर पढीसके पछि मैले कसैलाई अनुशंसा गर्न आबश्यक ठानिन र हाम्रो संचलयमा प्रेमपुर्वक संग्रह गरेर राखिन भने यस्तो पुस्तकको केहि औचित्य हुंदैन । प्रकाशन भएको नभएको कुनै मतलब हुदैन । मैले यो पुस्तक किनेर खेर फालेको पैसा र पढेर खेर फालेको समय अरुको लागि सुभिता हुन पुगेको खण्डमा मैले लेखेको तिन सय पचास शब्दको टिप्पणी यो पुस्तक जस्तै खेर जाँदैन ।

उनमा प्रसस्त संभावना र उनका संसर्गमा अपार क्षमता भएको आभाष चैं पक्कै हुन्छ ।

लेखिकामा साधुबाद, आगुम राम्रो लेखुन ।

जय होस ॥