Tuesday, March 25, 2014

मेरो चारित्रिक प्रमाण-पत्र


सन्दर्भ कान्तिपुरमा प्रकाशित एक समाचारबाट शुरु गरौं जसमा नेपालका कुनै पश्चिमी जिल्लामा हाल चलिरहेको एसएलसी जाँच दिइ रहेकी एक अविवाहित छात्रा बिधालय नजिक प्रसुती भईन र पुन: करिब आधा घण्टा पछाडी जाँचमा सम्मिलित पनि भइन् ।

केहि मित्रहरुले ति पत्रिकाका अनलाईन संस्करणमा 'ब्यक्तिगत गोपनियता' भंग भयो भनेर त्यो समाचारको लिंक शेयर गरे । स्मरण रहोस ट्विटर वा फेसबुक जस्तो सामाजिक संजालमा शेयर गरिएको प्रत्येक स्टेटस सम्बन्धित ब्यक्तीको फ्रेन्डलिस्ट वा फलोवरका टाईमलाईनमा देखापर्नुको साथै ति फ्रेण्ड्स/फलोवरले रेस्पोन्स गरेको खण्डमा तिनका फ्रेन्डलिस्ट वा फलोवरका टाईमलाईनमा समेत र ऐजन प्रकारले फिजिन्छ । यहाँ ति मित्रहरुले गोपनियता हननको बिरोघ गरे कि प्रचार गरे, त्यो मैले ठम्याउन सकिन् ।

सम्बन्धित समाचार माथी एक विद्वान मित्रले टिप्पणी गरे:
-    नेपालको कानुनमा विवाहअघि यौनसम्बन्ध र बच्चा जन्माउनु अवैध मानेको छ ? यदि छैन भने व्यक्तिको गोपनीयताको हक मिचेर सञ्चारमाध्यममा समाचार किन ?
-    सञ्चारकर्मी मित्रहरूले बुझ्नुपर्‍यो नेपालमा कतिपय जातीय समूहमा विवाह समारोहको अर्थ फरक छ जसले यौनसम्बन्ध, सन्तान पाउने काम निर्देशित गर्दैन।
-    साथै, आजभोलि लिभिङ-टुगेदर सम्बन्धका कारण पनि विवाह र सन्तानबीचको सम्बन्ध महत्वहीन हुँदैछ । पत्रकारले आफूमा रहेको अतिवादी सोच चिन्नुपर्‍यो ।
-    कसैले बच्चा पाउँदा पत्रकारहरू 'तिम्रो विवाह भएको छ/छैन ?' भनेर सोध्नजाने रहेछन् । छैनभने पत्रिकामा सनसनिखेज समाचार बनाउने रहेछन् ।

ति परिक्षार्थी छात्राका ईच्छाशक्तीलाई मान्नै पर्ने धेरै कारण हुंदा पनि बिद्वान मित्रको टिप्पणीमा मेरो चित बुझेन । बहस ब्यक्तिगत गोपनियताको हुंदैछ्, जसको प्रचार/प्रसार गर्नमा सामाजिक संजालमा शेयर गरी मुख्य भुमिका तिनै बिद्वान मित्रले निर्वाह गरे । समाचारमा माध्यमिक तहका परिक्षार्थी छात्रा सम्बन्धित छन, जुन छात्र/छात्रा प्राकृतिक रुपमा अबयस्क छन्, कानुन र समाजले मानी आएको मान्यता अनुसार यिनका क्रियाकलाप अभिभावकको मञ्जुरीमा निहित हुन्छ । तर मित्रले विवाह अधि र पछीको यौन सम्बन्ध, गर्भघारण, बच्चा जनमाउने अधिकारको बैद्धता वा अवैधता । लिभिंग टुगेदरको आधुनिकता र परम्परागत विवाहको उपयोगिता सम्ममा प्रश्न चिन्ह लगाई दिए ।

जस्को निम्न प्रतिक्रिया मेरो बुद्दीले बुझे अनुसार, बिना कुनै ब्यक्तिगत आक्षेप, आफ्नो टाईमलाईनमा शेयर गरे:
-    आधुनिकताको नाममा कुतर्क गर्न सुहाउछ ?? गोपनियताको कुरा ठिक हो तर संसर्ग बैध/अबैध नमान्ने कस्तो संस्कार बसाल्न खोज्दै छौ हामी ???
-    लिभिङ टुगेदरको नाममा एसएलसी दिदै गरेका नाबालीकालाई बच्चा जनमाउने 'अधिकार' दिने?
-    भर्खर जन्मेको बच्चालाई स्याहार्नु भन्दा जाँच दिन हतार भएको महिलामा के 'मातृत्व' देख्नु भयो कुन्नी । 'रमाइलो'मा पाएको झंझट ?
-    १६ बर्ष मुनिका महिलालाई जान/अनजान/ललाई/फकाई संसर्ग गर्ने बलात्कारी हो । अझै विवाहको उपयोगितामा समाजशास्त्रीले बुझ पचाएर हुन्छ ?

स्व. जगदिश घिमिरेले कतै लेखेका थिए "मान्छे भन्नु उसको औकात हो । हरेकले आफ्नो औकात अनुसार बाँच्छ,  गर्छ,  मर्छ,  बोल्छ,  लेख्छ,  मित्र र शत्रु बनाउँछ, सिंगौरी खेल्छ,  अंकमाल गर्छ "

बिना ब्यक्तिगत आक्षेप मैले शेयर गरेको निहित मेरो अपिनियन, जुन कुनै नजिर या ऐन होइनन्, माथी वहाँले 'भिषन प्रहार' गर्नु भयो र संग संगै मैले मेरो चारित्रिक प्रमाणपत्र पनि तत्काल पाए ।

-    तपाईं महिला र उनीहरूले नेपालमा भोग्नुपर्ने अनेक समस्याबाट बेख़बर रहेको र रहनचाहेको प्रस्ट हुन्छतर त्योभन्दा पनि बढी मानिसका रूपमा महिलाको हक़ अधिकार र उनिहरूको यौनिकताका विषयमा तपाईंको सोच यति तल्लोस्तरको छ भन्ने सोचेको थिइनँ ।
-    उहाँको विचारबाट दुखी भएँ । यति शिक्षित पुरुषले पनि महिलालाई दाश ठान्नेरहेछन् ।
-    तपाईंको महिलालाई हेर्ने दृष्टिकोणका गम्भीर समस्या पाएँ । यस विषयमा म तपाईंसँग बहस गर्न पनि इच्छुक छैन । धन्यवाद ।

यहाँ औकात प्रष्ट भयो । वहाँले कुन आधारमा मेरो बिचार वा सोचको मापन गर्नु भयो वहाँले नै जानुन् । म सायद सोध्न नि सक्थे तर यति बिधि पूर्वाग्रह बोकेका बिज्ञले बहस गर्न अनिच्छुक हुंदा, मैले गरि टोपल्ने बाँकी नि केहि थिएन ।

महिला अधिकार र समानताको कुरा गर्नेहरुको चारित्रिक ढोंग माथी कुनै दिन जाँगर चलेको बेला पक्कै लेखौला । प्राकृतिक रुपमै असमान हुँदा र हामी भित्र आ-आफ्नै बिषेश गुण-द्वेस रहेकाले परम्परागत रूपमा एक अर्काको संबाहक रहनु पर्छ भन्ने मेरो मान्यता हो । हामी नारीलाई प्रतिस्पर्धा गर्न नदिएर अझै ठुला ठुला सहानुभुतीका शब्दहरू राखेर वाहवाही लुट्न पल्केका छौ ।

पुनश्च: मेरो यो ट्विट यहाँ राख्न अझ उपयुक्त होला । "हाम्रो देशमा जनताहरु लोकतन्त्र र आधुनिकताको नाममा 'सार्बजनिक स्थान'मा नाँङै हिडेर ब्यक्तिगत गोपनियता खोज्छन्" ।

॥ ईती ॥ २०७०।१२।११