Sunday, December 31, 2017

॥ लिपस्टिक ॥

कुरा हो अलि डेढ दशक अघिको
अर्को नयाँ सालको थियो साँझ अघिको
जाडो थियो उन्मत पुष १५ पछिको ।

गायन महोत्सवमा थियो दर्शक भरमार
भिड हुदै थियो मदमत्त अलि साँझ पछिको ।

उल्लासको बातावरण सबै गर्दै रमाइलो
कोई नाँच्दै बसेको ठाँऊमा ढेपिदै आउने ।

लगलग काम्दै फर्किए आधिरातमा
सिरक भित्र गुट्मुटिए बिना कुनै संतापमा ।

बिहान बिउझिंदा नजर पर्यो टिसर्टको धापमा
टक्क नजर अडकियो त्यो लिपस्टिकको छापमा ।

सेक्रेट एडमाइरर थिइन कुनै ति अनुरागी
वा, अल्झिएको पाइलाले भिडमा
ढेपिएर भएको मात्र एक दुर्घटना ।

अभियुक्त कहलिए नगरेको अपराधमा
रहस्य नै रहस्यमय रह्यो बितेका सालमा ।

आउने नयाँ सालको आज साँझ अघिको
जाडो छ मैमत पुष १५ पछिको ॥
🤒


Tuesday, November 07, 2017

॥ पशुपतीनाथले हामी सबैको कल्याण गरुन ॥

थरिथरिका हनुमान पत्रकार छन, थरिथरिका स्तुती-बन्दना गर्ने पत्र-पत्रिकाहरु छन । छापा भन्दा च्याउ झै उम्रिएको अनलाइन पोर्टल, फेसबुक पेज, यस्तै अरु पनि कति कति । यो नेता यस्ता, त्यो दल उस्तो । तपाँई एउटा पार्टीलाई केहि भन्नु हुन्छ तर अर्कोलाई केहि पनि नाई, भन्न सक्नु हुन्न वा भन्न खोज्नु हुन्न ।

हनुमान(ब्रो)हरुको प्रलय-समान भक्ती देखेर मन भारी हुन्छ। मनमा तिक्तता आउदा यस विषयमा टीका-टीप्पणी गर्न मन लाग्छ । नत्र अरु धेरै काम छ मेरो । खाई पाई आएको जागिर छ, घर परिवार छन, आफन्त छन, साथीभाईहरुछन । काम भै रहन्छ, छुटाउन मिल्दैन, बेकामको कुरामा भुल्न मिल्दैन ।

पार्टी जुन पनि होस उसको ब्यबस्थापनमा, कार्यकर्ता-ब्यबस्थापनमा बिशेषत: बिभिन्न खर्चहरु हुन्छ/छ, अरु पनि धेरै खर्च हुन्छन पार्टीको । कहाँबाट आउछ यो खर्च ? जनताले चन्दा दिन्छन सबै ? सबै न होला । उ आफै भोको पेट बसेकोछ । दुनियाँ लफडा र झमेलामा फसेको छ साधारण जनता । उसले पाउने पनि केहि होईन भन्ने थाहा छ । उ संग दिने केहि छैन, दिदैनन पनि जनताले । अनी, कुनै न कुनै व्यापारी ब्यबसायीले देला। किन देला? आफ्नो लागि कुनै फायदा पछि बदलामा लिने होला । कुनै अपराधिक गैरन्यायिक लफडामा फसेको बेला वा राजस्व अख्तियारीमा परेको बेला यिनै राजनीतिक टाउकेलाई सहयोग गरेको भरमा कजाउने होला ।

इनका बीचमा को हुन्छ ? दलाल वा एजेन्ट । कसरी भेट ब्यबस्थापन हुन्छ, आश्वासन, बिश्वास, जोड घटाऊ, प्रमिस, कमिटमेन्टका खेस्रा कसले ल्याउछ? कसरी टुङ्गीन्छ शिर्षकहरु ? यिनका बिचौलियाहरु कति सम्म क्षमतावान हुन्छन, यसको आकलन गर्ने एक छटाक शक्ति पनि यो प्युसा जस्तो आम-जनतामा हुदैनन ।

यस्ता घटना / परिघटनामा केहि यस्तो छ जुन तपाँई पहिलो चोटी सुन्दै हुनुहुन्छ वा पढदै हुनुहुन्छ ? अनि फेरि यतिका हल्ला वा आक्रोश किन । कुनै भ्रष्टाचार/अपराध सुनेर म के गर्न सक्छु । आफ्नो काम छोड़ेर के म माइतीघर मण्डलामा जुलुस लिएर हिंडौ वा मैनबती बालेर प्रदर्शन गरौ । फेसबुकमा पोस्ट गर्नुको पनि खासै औचित्य नहोला/नरहला ।

तरकारी बजार वा हटियाहरुमा, बजारको भिडभाडबाला क्षेत्रमा प्राय: देखिने एउटा अजंङ्गको सांढे हुन्छ, जो जस-कसैलाई जुन-कुनै बेला पनि हमला गर्न सक्छ, घाइते बनाउन सक्छ । गरि रहन्छ, बनाइ रहन्छ । हामीलाई उसको खतरा थाहा छ । उसबाट हुने खतरा थाहा हुन्छ । बचाउ गर्न जरुरी हुन्छ । हिड्दा चनाखो रहन्छौ । कतै बाट झुलुक्क निस्कन्छ कि, देखे बाटो बदलेर साँढेलाई छलेर उसले नदेखिने गरि हिडछौ । ज्यान जोगाउछौ, खतरा टार्छौ ।

अन्तमा, जबसम्म दलीय राजनीति छ यसरीनै चल्छ । दुनियामा यसै चलेकोछ । शताब्दीयौ देखि । कुनै विकल्प छैन । निर्बिकल्प । 

सत्ता मोह, नेतृत्वको तृष्णा, छल-कपट, दोष-घृणा, काट-मार आदी आदी अनादी ईत्यादी । जुन जोगी आए पनि कान चिरिएकै हुन्छ। कान न चिरिएकाहरु जोगी हुन् सक्दैनन। जनता नाँगो ज्यान र भोको पेट लिएर भोट हाल्ने बाहेक काम छैन। 

ल त यसै गरौं, त्यसै गरौं ।

Tuesday, July 18, 2017

॥ वधु शिक्षा ॥ - आदिकवि भानुभक्त आचार्य

प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।

मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।
माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ।।३।।

पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।
पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ।।
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ।।४।।

घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ।।
स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।
निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ।।५।।

जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।
जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ।।
स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।
गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।

तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।
पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ।।
भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ।।७।।

रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।
धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ।।
यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।
लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ।।८।।

ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।
चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ।।
जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।
सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ।।९।।

अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।
काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ।।
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ।।१०।।

पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।
सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ।।
ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।
क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।

रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।
फूपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ।।
सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ।।१२।।

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।
यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।
टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।१३।।

अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ।।
पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।
ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।

मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।।
यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।
तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।

पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ।।
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।।१६।।

साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ ग¥याको जति ।।
यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।

भन्छन् शास्त्र पति र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
भन्छन् ता पनि जो पति छ उसरी हूँदैन कोही पनी ।।
दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ।।१८।।

हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।

मानिस्को त बताउँ क्या अब विचार पक्षी पशूको पनी ।
पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ।।
जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।
स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ।।२०।।

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।
जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ।।
खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।
एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ।।२१।।

खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ।।
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।
आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ।।२२।।

जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं पर्यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।

पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ।।
खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ।।२४।।

दिनदिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै नखाया ।।
गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।
विहक सकि दियाको अन्न भन्या त ठान्नु ।।२५।।

काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ।।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ।।२६।।

छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।
उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ।।
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ।।२७।।

प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।
यस्तो भो यसरी गर्याँ यति गर्याँ गन्र्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।

जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।
मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ।।
पतिकन यस रित्ले बातले खुस बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।

यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।
पढीलिनु सबले नारीको हित् जनाञाँ ।।
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१।।

स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ।।
स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ।।३२।।

स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ।।
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ।।३३।।

Wednesday, July 05, 2017

|| पाहुना ||

घर बिदामा आउँदा अचेल
मलाई मेरो
आफ्नै घरले जिस्काउछ
मेरो ब्यागको लगेज ट्याग फरफराएर
बेला बेला झस्काउछ
फगत, पाहुना त हुँ आफ्नै घरमा
केहि दिन/हप्ता/महिनाका लागि ॥

घरकाले भन्छन
आफ्नो सामान ब्यागबाट नझिक्नु
भित्रै राख्नु
हरेक पल्ट केहि न केहि छुटेको हुन्छ
केहि न केहि बिर्सेको हुन्छ ॥

साथी-भाई, ईष्ट-मित्र, सगा-सम्बन्धीहरु
भेटदा कहिले आईस भन्दा पनि
कहिले जाने, फेरि कहिले आउने सोध्छन्
उदास मनलाई, यो कठोर लाग्छ
आफन्तले सहानुभुतीमा
चोट दिएर जान्छन ॥

पुग्नु अगाबै
फिर्तीको टिकट कन्फर्म गर्नु पर्छ
घर पुगेको भोली देखि
फर्किने दिनको शुरु हुन्छ गन्ती
समय बालुवा झै फिस्स
हाथबाट चिप्लिए झै गरेर
दिन/हप्ता/महिना त्यतिकै सकिन्छ ॥

जुन घरको
कुना-कुनाबाट परिचित थिए
अचेल भर्याङ्ग उक्लिदा खुट्टा ठोकिन्छ
बत्तिको स्विच भेटिदैन,
भेटे पनि मेसो हुदैन
अलमल हुन्छ
कुन कता हो बाल्ने
कुन के हो निभाउने ॥

अचेल छिमेकीहरुले पनि खासै चिन्दैनन
हुर्केका बच्चाहरु नयाँ-नयाँ अनुहार
कुनै बुढापाका भेटे, चिने भने
कहिले आयौ, कहिले जाने
सञ्चै हुन्नुहुन्छ, सञ्चै छु 
भन्दा बढी सोध पुछ हुँदैन ॥

फर्किने दिन सम्झन्छु
आहा, यसपाली यो-यस्तो
पकाएर खान सोचेको, भुलेछु
पछिलाई केहि परिकार झोलामा हाल्दा
पछि खाने भनेर थपेर राख्दा
फेरी ब्याग भारि भएछ
सब थोक हेरेर, केहि झिकेर राख्दा
मन परेको चिज नै छुटेछ ॥

पाहुना हुँ भनेर सम्झिन्छु
झोक्रिन्छु
फेरि आउनेछु भनेर गम्किन्छु
आफन्त परिवारको अगाडी
अनुहार मलिन पार्न भएन
आँसु झार्नु भएन
खिस्स मुस्कुराउछु
"राम्ररी बस्नु है" भनेर
पिलपिलाएको आँखा
अर्को तिर फर्केर
टा-टा, बाई-बाई भन्दै हाथ हल्लाउछु
सम्झिन्छु
फगत, पाहुना त हुँ
म मेरो आफ्नै घरमा ॥


(21.03.2074)