Wednesday, July 05, 2017

|| पाहुना ||

घर बिदामा आउँदा अचेल
मलाई मेरो
आफ्नै घरले जिस्काउछ
मेरो ब्यागको लगेज ट्याग फरफराएर
बेला बेला झस्काउछ
फगत, पाहुना त हुँ आफ्नै घरमा
केहि दिन/हप्ता/महिनाका लागि ॥

घरकाले भन्छन
आफ्नो सामान ब्यागबाट नझिक्नु
भित्रै राख्नु
हरेक पल्ट केहि न केहि छुटेको हुन्छ
केहि न केहि बिर्सेको हुन्छ ॥

साथी-भाई, ईष्ट-मित्र, सगा-सम्बन्धीहरु
भेटदा कहिले आईस भन्दा पनि
कहिले जाने, फेरि कहिले आउने सोध्छन्
उदास मनलाई, यो कठोर लाग्छ
आफन्तले सहानुभुतीमा
चोट दिएर जान्छन ॥

पुग्नु अगाबै
फिर्तीको टिकट कन्फर्म गर्नु पर्छ
घर पुगेको भोली देखि
फर्किने दिनको शुरु हुन्छ गन्ती
समय बालुवा झै फिस्स
हाथबाट चिप्लिए झै गरेर
दिन/हप्ता/महिना त्यतिकै सकिन्छ ॥

जुन घरको
कुना-कुनाबाट परिचित थिए
अचेल भर्याङ्ग उक्लिदा खुट्टा ठोकिन्छ
बत्तिको स्विच भेटिदैन,
भेटे पनि मेसो हुदैन
अलमल हुन्छ
कुन कता हो बाल्ने
कुन के हो निभाउने ॥

अचेल छिमेकीहरुले पनि खासै चिन्दैनन
हुर्केका बच्चाहरु नयाँ-नयाँ अनुहार
कुनै बुढापाका भेटे, चिने भने
कहिले आयौ, कहिले जाने
सञ्चै हुन्नुहुन्छ, सञ्चै छु 
भन्दा बढी सोध पुछ हुँदैन ॥

फर्किने दिन सम्झन्छु
आहा, यसपाली यो-यस्तो
पकाएर खान सोचेको, भुलेछु
पछिलाई केहि परिकार झोलामा हाल्दा
पछि खाने भनेर थपेर राख्दा
फेरी ब्याग भारि भएछ
सब थोक हेरेर, केहि झिकेर राख्दा
मन परेको चिज नै छुटेछ ॥

पाहुना हुँ भनेर सम्झिन्छु
झोक्रिन्छु
फेरि आउनेछु भनेर गम्किन्छु
आफन्त परिवारको अगाडी
अनुहार मलिन पार्न भएन
आँसु झार्नु भएन
खिस्स मुस्कुराउछु
"राम्ररी बस्नु है" भनेर
पिलपिलाएको आँखा
अर्को तिर फर्केर
टा-टा, बाई-बाई भन्दै हाथ हल्लाउछु
सम्झिन्छु
फगत, पाहुना त हुँ
म मेरो आफ्नै घरमा ॥


(21.03.2074)


No comments:

Post a Comment