Sunday, September 02, 2018

हेप्पी बर्थडे, कृष्णा - !! भगवान हराएको साल !!


तिथि: भाद्र कृष्ण अष्टमी
स्थान: कृष्ण मन्दिर, पाटन, ललितपुर

आधा रात, पाटनको साँघुरा र अँध्यारा गल्लीहरुबाट हुलका हुल महिलाहरु/पुरुषहरू कृष्णमन्दिर तिर भेला हुँदै थिए । रातो पहिरनमा नारीहरू वातावरण नै रातै पारेका थिए । लामबद्द भक्तजन बिहान पुजा गर्न चाडै पालो पाउन यति बिघ्न दुख: गरि रातारात मन्दिर परिसरमा भेला भएका थिए । रक्तिम वातावरण र राधा-कृष्णका भजन किर्तनले मन्दिर परिसर थप मुग्ध बनेको थियो ।

सिमसिम परिरहेको पानी, छानाबाट चुहिएको पानीका लहरै थोपाहरुले छाता माथि बज्ने टपर-टपर पानीको आवाज । भक्तजनहरु चाँडै पालो पाउन लाइनमा ठेलम ठेल गरि रहेका थिए ।

हुलका हुल मान्छे । कसरी सक्ने होलान यतिका मान्छेले एकै दिनमा पुजा गरेर । मध्यरात पछि मन्दिर खोल्ने र पुजा शुरु गर्ने प्रचलन चलाउन परेको यसै कारणले पो थियो कि ! के थाहा ? दिपमा तेल हालेर बाती उजाउँदा भर्रर बलेर आएको प्रकाशमा पुजारीको निधार खुम्चियो । आश्चर्यले आँखा अझै ठुलो पारेर हेरे । अझैँ अलि अघि सरेर हेरे । छैनन्... । अहँ छैनन् त...!! कता गए गोपाल ! शताब्दियौ देखिको बास यसरी छोडी हिडेको र फर्केको त कुनै कथा सुनेकै थिएन ।

एकाएक हल्ला भयो । भगवान छैनन रे खोपीमा । कृष्णजी गायब। राधा रुक्मिनी सबै आश्चर्य चकित । एक एक गोपिनीको घरमा छान मार्न समय थिएन, तै पनि भारदारहरु दौडिए । भक्तजनमा हाहाकार, कोलाहल, रुवाबासी । अनेक शंका उपशंकाहरू थपिए । तर अहँ कतै छैनन । नाम निशानै छैन । 

बोलो हरि.. बोलो गोबिन्द बोलो !
हरि गोपाल बोलो !
नजिकैको डबलीमा एक हुल मान्छेहरु ठुलो स्वरमा भजन गरिरहेका छन् । सायद ती मान्छेले अहिले सम्म केहि थाहा पाएका छैनन् । आफ्नै भक्तिमा लिन, भजनमा रमेका, झुमेका । तिनलाई भित्र खोपीको भगवान गायब भएको न कुनै जानकारी थियो न कुनै मतलब । तर कतिबेर । बाहिरको हल्ला खल्ला त्यहाँ नि पुग्यो । सबै भक्तजनहरु चिन्तित तर भजन रोकिएन । भगवान हराएको यो पहिलो घटना थियो, ललितपुर नगरीमा ।

त्यहिं कुनामा अलि अँधेरो पारेर एकजना लम्पसार पल्टेका थिए । एउटा खुट्टाको कल्ली पनि थिएन । अर्को खुट्टाको कल्ली निकाल्ने प्रयास गर्दा गर्दै पनि नसकेर छोडेको जस्तो ठाँउ ठाँउमा कुल्चिएको बाँड्गो । पछि ठोकठाक पारेर मिलाएको जस्तो पनि ।

- ओ! ब्रो, उठ । यता डबलीमा पनि कोई सुत्छ ।
- पुजा शुरु भै सक्यो ? अन्कनाउदै बोल्यो सुतेको शरिर ।
- भगवान गायब छ रे । छैनन् खोपीमा ।
- कति चाँडै, शुरु गरेका । बिहान त हुन दिनु ।
- मान्छे धेरै छ । भ्याउदैन ।
- ल ल । भनेर यसो कोल्टो फेर्दा जनैमा बाँधेको बाँसुरी अडकेर बसेको थियो ।
- किन लठ्ठी लिएर हिड्या ।
- यो मैले बजाउने बाजा हो, चाहिन्छ ।
- अनि किन लम्पसार, सञ्चो छैन क्या हो ब्रो लाई ।
- अलि टाउको दुखेको छ, हिजोकी साहुनीको आइला राम्रो थिएन ।
- अनि किन रक्सी खाएको ब्रतको दिनमा ।
- अरुलाई पो ब्रत, मेरो त बर्थडे नि, यसो चुस्स लगाउ कि भनेर गएको, पैसा नि थेनन, एउटा कल्ली दिएर कुरा मिलाए । अर्को नि चाहिन्छ भन्दै थिई साहुनिले । निकाल्नै नसकेर बच्यो । अर्को साल यसैले टार्नु पर्ला ।

- के रे, बर्थडे । कस्को बर्थडे ?
यसो आफ्नै शरिरले छेलेको प्रकाश छेउ पारेर हेर्दा ओहो! साक्षात भगवान श्रीकृष्ण पो त । राता राता आँखा, मयुर प्वाँख किचिएर किचमिच भएको । लुटपुटिएको पिताम्बरीको सप्को तानेर मिलाउदै थिए ।

- ल छोड म, जान्छु अब, भित्र हल्ला भइ सक्यो होला । ह्याङ्ग पो भयो जस्तो छ, कस्तो टाउको दुखेको ।

झिलिप्प भयो र भगवान त्यहाँ अन्तर्ध्यान भई खोपीमा पुग्नु भयो । कलश माथिको दिप पिलिक्क निभ्ला झै भयो अँध्यारो अँध्यारो जस्तो भयो फेरी झिलिक्क गर्यो ठुलो प्रकाश देखियो। पुजारीले हेर्दा भगवान ढलमल गर्दै गद्दीमा बिराजमान हुनु हुँदै रहेछन् । पुजारीले नमन गरे । भगवान मुसुक्क हाँस्नु भो ।

शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥ 

भट्ट्याउदै । पञ्चपातमा राखको सबै पञ्चगब्य अर्पण गर्दै, अब यस्ले एकै छिनमा सञ्चो हुन्छ, पिर लिनु पर्देन् ।

बिहान उज्यालो हुन् हुन लागेको थियो, परेवा तथा अन्य चरा चुरुङ्गी चिरबिर गर्न थालि सकेका थिए । भक्तजनहरु एक एक लाईनमा पुष्प अबिर अर्पण गर्दै भक्तिमा लिन हुँदै गए, लाईन बढ्दै गयो । एवम् प्रकारले साँझ सम्म पनि भ्याई नभ्याई थियो । 

बाटो पारी बुढीमाँले यसो मन्दिर तिर हेरिन, कल्ली हाथमा निकालेर निकै बेर हेरिन, फेरि पटुकी भित्र लुकाएर राख्दै आँखा चिम्लिइन र सम्झिइन मनै मन, केहि फतफताईन ।
जन्मदिबस्य हार्दिक शुभेक्षा ।
जय श्री कृष्ण
जय श्री कृष्ण गोविन्द गोविन्द हरे मुरारे
हे नाथ नारायण वासुदेवाय :
हे नाथ नारायण वासुदेवाय :

(फोटो साभार: गुगल)

No comments:

Post a Comment