Tuesday, November 07, 2017

॥ पशुपतीनाथले हामी सबैको कल्याण गरुन ॥

थरिथरिका हनुमान पत्रकार छन, थरिथरिका स्तुती-बन्दना गर्ने पत्र-पत्रिकाहरु छन । छापा भन्दा च्याउ झै उम्रिएको अनलाइन पोर्टल, फेसबुक पेज, यस्तै अरु पनि कति कति । यो नेता यस्ता, त्यो दल उस्तो । तपाँई एउटा पार्टीलाई केहि भन्नु हुन्छ तर अर्कोलाई केहि पनि नाई, भन्न सक्नु हुन्न वा भन्न खोज्नु हुन्न ।

हनुमान(ब्रो)हरुको प्रलय-समान भक्ती देखेर मन भारी हुन्छ। मनमा तिक्तता आउदा यस विषयमा टीका-टीप्पणी गर्न मन लाग्छ । नत्र अरु धेरै काम छ मेरो । खाई पाई आएको जागिर छ, घर परिवार छन, आफन्त छन, साथीभाईहरुछन । काम भै रहन्छ, छुटाउन मिल्दैन, बेकामको कुरामा भुल्न मिल्दैन ।

पार्टी जुन पनि होस उसको ब्यबस्थापनमा, कार्यकर्ता-ब्यबस्थापनमा बिशेषत: बिभिन्न खर्चहरु हुन्छ/छ, अरु पनि धेरै खर्च हुन्छन पार्टीको । कहाँबाट आउछ यो खर्च ? जनताले चन्दा दिन्छन सबै ? सबै न होला । उ आफै भोको पेट बसेकोछ । दुनियाँ लफडा र झमेलामा फसेको छ साधारण जनता । उसले पाउने पनि केहि होईन भन्ने थाहा छ । उ संग दिने केहि छैन, दिदैनन पनि जनताले । अनी, कुनै न कुनै व्यापारी ब्यबसायीले देला। किन देला? आफ्नो लागि कुनै फायदा पछि बदलामा लिने होला । कुनै अपराधिक गैरन्यायिक लफडामा फसेको बेला वा राजस्व अख्तियारीमा परेको बेला यिनै राजनीतिक टाउकेलाई सहयोग गरेको भरमा कजाउने होला ।

इनका बीचमा को हुन्छ ? दलाल वा एजेन्ट । कसरी भेट ब्यबस्थापन हुन्छ, आश्वासन, बिश्वास, जोड घटाऊ, प्रमिस, कमिटमेन्टका खेस्रा कसले ल्याउछ? कसरी टुङ्गीन्छ शिर्षकहरु ? यिनका बिचौलियाहरु कति सम्म क्षमतावान हुन्छन, यसको आकलन गर्ने एक छटाक शक्ति पनि यो प्युसा जस्तो आम-जनतामा हुदैनन ।

यस्ता घटना / परिघटनामा केहि यस्तो छ जुन तपाँई पहिलो चोटी सुन्दै हुनुहुन्छ वा पढदै हुनुहुन्छ ? अनि फेरि यतिका हल्ला वा आक्रोश किन । कुनै भ्रष्टाचार/अपराध सुनेर म के गर्न सक्छु । आफ्नो काम छोड़ेर के म माइतीघर मण्डलामा जुलुस लिएर हिंडौ वा मैनबती बालेर प्रदर्शन गरौ । फेसबुकमा पोस्ट गर्नुको पनि खासै औचित्य नहोला/नरहला ।

तरकारी बजार वा हटियाहरुमा, बजारको भिडभाडबाला क्षेत्रमा प्राय: देखिने एउटा अजंङ्गको सांढे हुन्छ, जो जस-कसैलाई जुन-कुनै बेला पनि हमला गर्न सक्छ, घाइते बनाउन सक्छ । गरि रहन्छ, बनाइ रहन्छ । हामीलाई उसको खतरा थाहा छ । उसबाट हुने खतरा थाहा हुन्छ । बचाउ गर्न जरुरी हुन्छ । हिड्दा चनाखो रहन्छौ । कतै बाट झुलुक्क निस्कन्छ कि, देखे बाटो बदलेर साँढेलाई छलेर उसले नदेखिने गरि हिडछौ । ज्यान जोगाउछौ, खतरा टार्छौ ।

अन्तमा, जबसम्म दलीय राजनीति छ यसरीनै चल्छ । दुनियामा यसै चलेकोछ । शताब्दीयौ देखि । कुनै विकल्प छैन । निर्बिकल्प । 

सत्ता मोह, नेतृत्वको तृष्णा, छल-कपट, दोष-घृणा, काट-मार आदी आदी अनादी ईत्यादी । जुन जोगी आए पनि कान चिरिएकै हुन्छ। कान न चिरिएकाहरु जोगी हुन् सक्दैनन। जनता नाँगो ज्यान र भोको पेट लिएर भोट हाल्ने बाहेक काम छैन। 

ल त यसै गरौं, त्यसै गरौं ।