केही
दिन पहिले एउटा टिभी कार्यक्रममा मधेसको एउटा गाँऊमा दलितलाई इनारबाट पानी
भर्न दिइएन भन्ने सुन्दा म अचम्म मान्दै थिएँ । उत्पिडनको यो पाटो मेरो आँखै अगाडी
हुँदा पनि म बिश्वास गर्न सकिरहेको थिइन । दिग्गज नाम चलेका कलाकारलाई प्यादा बनाएर प्रबर्धनात्मक कार्यक्रम
गरेर आफ्नो टिआरपी बढाउने दाउ वाहेक अन्यथा केही होईन भन्ने मेरो आँकलन थियो ।
गाँउमा हाम्रो घर
अगाडी एउटा ठुलो इनार छ । बिधीपुर्बक यज्ञ पूजन गरेर हाम्रो पुर्खाले खनाएका उक्त इनारमा
कुनै जात जाती वा समुदायका मान्छेलाई पानी भर्नबाट बञ्चित गरिएको मैले कहिल्यै
देखिन । पहिले पहिले अचेल जस्तो प्राय:
सबैको घरमा ट्युबवेल हुन्थेन । गाँऊका पर परसम्मका मान्छेहरु समेत त्यही इनारमा
पानी लिन आउथे । एउटा सानो बाल्टी (डोल) डोरीले बाँधेर
सधै त्यही राखिएको हुन्थ्यो । अगाडी मुलबाटोबाट हिँड्ने जोकोहि बटुवा (बटोही) हरु
प्यास लाग्दा तिर्खा मेटेर जान्थे । न कसैले जात सोधेको हुन्थ्यो, न भनिरहने
आवश्यकता नै पर्थ्यो ।
कहिलेकाँही बाल्टी
चुँडिएर तल झर्थ्यो । बाल्टी निकाल्नको लागी बल्छी जस्तो अँकुसीको झुण्डपारेर
बनाईएका एउटा औजार जसलाई हामीले मैथिलीमा ‘काँकोर’ (नेपालीमा ‘गँगटा’ भनिने जस्तै)
भन्थ्यौं । त्यसै काँकोरमा अड्काएर निकाल्ने गरिन्थ्यो इनारमा डुबेको सानो ‘डोल’ ।
कहिले काँही त्यसले पनि सम्भव भएन भने इनारको पिँध सम्म ओर्लिन हालिएको बाह्र वटा फलामे
कडीबाट तल झरेर बाल्टी निकाल्ने गरिन्थ्यो ।
यो भुमिका बाँध्नुको
एउटा कारण यो हो कि (मैले सुने अनुसार) छुवाछुत बिरुद्ध वा मानविय सहयोगका निमित
केहि उच्च जातवालाहरुका कोमल मनले लगाएका ‘जुगाड’ कार्य थियो । यज्ञ पूजन गरेर खनिएको
इनारमा पनि बाह्र कडी हालेपछी जुनसुकै जातजाती र समुदायका मान्छेको बेरोकटोक पहुँच
हुन्थ्यो, छुवाछुत लाग्थेन, पबित्र अपबित्रको बन्धनबाट मुक्त हुन्थ्यो । कसैले
पानी झिकेर गाग्रीमा हाल्देला वा बाल्टी चुँडिएको खण्डमा कुनै उच्च जातवालाले ईनार
भित्र पसेर निकालीदेलान् अनि पानी भरौला भन्ने संकुचित बन्धन हुँदैन थियो ।
आजको
मितीमा पनि इनार यथास्थिती नै छ (रे) । तर पानीको अरु श्रोतको भरपुर उपल्ब्धताले
उपभोक्ताको कमी आएको भने पक्कै छ । प्रसङ्ग
पुन: उहि, म आफैं पनि यहि समाजमा हुर्केको र मेरो बाल्यकाल पनि यहि माटोमा सिंचित
भएको हुनाले यो समाज अझै पनि जातपात वा छुवाछुत प्रति रहि आएको अज्ञानता यति
अशिष्ट, यति भ्रांमकर यति क्रुर होला भन्ने लागेको थिएन ।
अझ भनौं मैले बुझ्न पो सकिन कि? म भ्रममा थिएँ
होला र सायद अझैं छु भन्ने यो अहिलेको दुर्घटनाबाट थप प्रष्ट भएको छ । एक्काइसौ शताब्दीमा आइपुगेका हामीमा वा हाम्रो समाजमा अझ कति अज्ञानता, भ्रम र अशिष्टता छ भन्ने
उदाहरण राष्ट्रपति महोदयाको विवाहपञ्चमीको अवसरमा भएको जनकपुर भ्रमणलाई लिन सकिन्छ
।
प्रथा वा परम्परा
मानव जगतको कल्याणका लागी लागु गरिएको हुन्छन, संरक्षित गरिन्छ, निरन्तरता दिइन्छ
। जुन धार्मिक वा सामाजिक प्रथा समाज र समयको प्रतिकुल देखिए तिनलाई प्रतिस्थापित
गरिएको छ, गरिने छ । हामी
संवेदनाहीन भयौं । हामीले हाम्रा परम्परा, अतिथी सत्कारका सबै धर्म बिर्स्यौं । अनि
यो पापको दोष जति सबै राजनीतिक संघर्षको नाममा हुने सत्तापक्षको पोल्टामा हाल्दियौं
र ढुक्कले पन्छियौं । राजनीतिक द्वेष वा राज्यका सत्तापक्षीय असमझदारी र सम्झौताका
बिभिन्न प्रसङ्गहरु होलान् ।
सबै आस्थाका धरोहरहरु, सार्बजनिक बिश्वासका दलिलहरु, चलिआएको प्रथालाई राजनीतिक रङ्ग
दिनु उचित हुँदैन् । यि मानबिय संवेदना, संस्कार र धर्म विरुद्धका क्रियाकापहरु
हुन् साथै यिनमा केहि समयानुकुल परिबर्तित या प्रतिस्थापित प्रथाहरुको ‘नस्ल’ खोज्ने काम पनि कदापी गर्नु
हुँदैन् ।
शुभकार्यमा बिधवा
अपसगुन हुन्छ रे ! मेरो आमा पट्टीको हजुरबा (नानाजी) मेरो आमा जन्मेको छ महिना मै
बित्नु भएको थिए रे । तर मेरो उपनयन (ब्रतबन्ध) संस्कारको बेला मेरी आमाको आमा
(नानी/हजुरआमा) ले महत्वपुर्ण परम्परागत बिधिहरुमा सहभागी हुनु भयो । म डेढ बर्षको
हुँदा मेरो हजुरबा बित्नु भएको थियो तर मेरो मुण्डन संस्कारको बेला मेरो हजुरआमाको
बिभिन्न महत्वपुर्ण बिधिहरुमा सहभागी हुनु भयो । त्यस उपरान्त पनि बिभिन्न विवाह,
ब्रतबन्ध आदी धार्मिक, सांस्कृतिक आस्थाका शुभकार्यहरुमा कसैले अशुभ वा अपसगुन
भनेनन् । यसै कारण कुनै अनपेक्षित अवरोध कुनै शुभकार्यमा पनि भएन र हुँदैन पनि ।
आज अचानक आमा रुपी ‘नारी’को भिन्न व्याख्या कसरी हुन पुग्यो ? सायद म बसेको समाज
अलग/असल थियो भनौं कि अहिलेको समाजमा आयातित आसुरी प्रभाव बढेको छ भनौं ?
यहाँ
राक्षसी मुद्रामा देखिएका ‘मालीक’हरु आफुलाई देवता स्वरुप भुमिकामा उतार्न तत्पर
देखिन्छन् । जहाँ स-साना बच्चालाई जीवन दिन अत्यावश्यक ‘दुध’ जस्तो अमृत पदार्थले
ति मालिकका खुट्टा पखालिने जस्ता दुष्कर्महरु हुन्छन् । पुष्पमाला पहिरिएर जय-जयकार
र जयगान गाउने आकाँक्षा लिएका हुन्छन् । अनी यहीं वरपरका अतिशिक्षीत मैथिल ललना
(सन्तान) हरु आधुनिकता र समानताका कुरा गरेर थाक्दैनन् । तर, समग्र मैथिल संस्कृति
र पहिचानलाई नै कलंकित गर्ने ति ‘रावण’ सेनाको पहिचान नगरेर पनि चुप किन बस्छन ?
ब्यक्तिगत
धारणामा “मधेश आन्दोलन”का उचित/अनुचित मागहरु हासिल/सम्झौता गर्न प्रक्रियागत अरु
धेरै प्रकारका संवैधानीक उपायहरु पनि होलान् । तर, ती विकल्पहरु हुँदाहुँदै पनि
अनुकूल समयमा सत्तामोहमा रमाउने र आखिरी समयमा आएर अमानविय उपाय ‘नाकाबन्दी’ गरि
सम्पुर्ण जनताको न्युनतम मौलिक हकहरु माथि प्रहार गर्ने, सामान्य जनजिवनलाई
परिबन्धमा राख्ने लगायतका देशलाई आर्थिकरुपले अज्ञात अन्धकारको भुमरीमा फाल्ने
नीतिसंग कुनै समर्थन राख्नु हुदैन ।
हाम्रो
लालन-पालन-पोषण-शिक्षा-दिक्षा के मा कमी रह्यो र हामी यति अमानुष भयौं ? राष्ट्रप्रमुखको
अहोदालाई दलिय आक्षेप भन्दा बाहिर राख्न सक्नु पर्थ्यो र पर्छ । सम्मान दिन
नसिकाउने भनेर हाम्रा अभिभावकहरुलाई आएको कलंकको आक्षेपले आगामी दिनहरुमा हाम्रा
शिर ननिहुरियोस् ।
राष्ट्रप्रमुख
जस्तो गरिमामय पदमा रहनु भएकी एउटी महिलालाई अपवित्र बिधवा भनेर गरिएको अपमानले मलाई
लाज्जाबोध भएको छ । कन्या भ्रुण हत्या, बुहारीलाई
दाईजो नल्याएको निहुँमा गरिने हत्या, अन्तरजातीय विवाह आदी इत्यादीमा गरिने बर्बरता
अमानवियताको पराकाष्ठा नै हो ।
नारी
अधिकारको सशक्त भुमिकाको लागी प्रयोग गरिने बिभिन्न नामहरु जनकनन्दनी, बैदेही,
मैथिली, जानकी, जनकसुता, भुमिजा कै प्रिय जनकपुर नगरीमा महिला राष्ट्रप्रमुखको
अपमान भएको छ । सिता कै मानको अपहरण भएको छ ।
॥१९.१२.२०१५॥
No comments:
Post a Comment