Tuesday, October 06, 2026

उहिलेको एउटा दशैं - संस्मरण

यो वि.सं. २०५२ (सन् १९९५) सालको दशैँको कुरा हो। 
म त्यति खेर ग्राजुएसनको फाइनल जाँच दिएर देश फिरेको थिए । कम्पयुटर सिक्दै थिंए र पेशाले आर्किटेक्ट हाम्रो दिदीको 'सेकरेड गल्ली अफ बनारस' शिर्षकको थेसीसमा सघाउन हामी दशैं बिदामा यतै बस्ने निर्णयका साथ हाम्रो परिवारका अन्य सदस्यहरू उपत्यका बाहिर गइसकेका थिए र लाजिम्पाट–धोबीचौरको ठुलोबाको त्यो तिन तल्ले घर एकदमै शान्त र सुनसान थियो। घरमा म र समवयका एउटा सहयोगी भाइ मात्र बाँकी थियौँ।   काठमाडौँ उपत्यका सदाझैँ प्रायः सुनसान भइसकेको थियो।
हामी मैथिलहरूका लागि दशैँ भनेको धेरै भोजभतेर गर्नुभन्दा पनि पूजाआजा र विधिलाई बढी प्राथमिकता दिनु हो। तर, १८-१९ वर्षका लक्का जवान केटाहरू, सुनसान सहरमा आफ्नै धुनमा थियौँ। त्यस्तो साह्रो बदमासी त केही गरेनौँ बस, छिमेकीको आँखा नपरोस् भनी सतर्क हुँदै लुकीछिपी छतमा चुरोट तान्नु र धुवाँ उडाउनु नै हाम्रो सबैभन्दा ठुलो विद्रोह थियो।
तर फूलपातीको भोलिपल्ट हाम्रो त्यो शान्त संसारमा एउटा हलचल आयो।
निल–सरस्वती मन्दिर नजिकै बस्ने मेरी आर्किटेक्ट दिदी (कजन) ले फोन गरेर एउटा मज्जाको खबर सुनाइन्: मनिषा कोइराला नेपाल आएकी छिन् र नजिकै शेखर'दाको घरमा बसेकी छिन्। दिदीले मलाई उनलाई भेट्न मन भए आउन भनिन्।
साँचो भन्नुपर्दा, ममा पटक्कै उत्साह थिएन। मैले हप्तौँदेखि दाह्री–जुँगा काटेको थिइनँ। दक्षिण एसियाकै लाखौँको ढुकढुकी बनिसकेकी, बलिउडकी ती प्रख्यात रोमान्टिक अभिनेत्रीलाई भेट्न यस्तो अस्तव्यस्त रूपमा जान मलाई अलिक धक लागिरहेको थियो। केही बेरपछि दिदी आफैँ मलाई लिन आइपुगिन्। मैले नजाने बहाना बनाइरहेको थिएँ, तर जब उनले नाना पाटेकर पनि त्यहीँ संगै आएका छन् भने कुरा सुनाईन, त्यसपछि भने सोचाई परिवर्तन भयो।
नब्बेको दशकको मध्यतिर हामीजस्ता युवाहरूका लागि नाना पाटेकर केवल एक अभिनेता मात्र थिएनन्, उनी त एउटा आँधी नै थिए। बलिउड भर्खरै पुरानो ढर्राको एक्सन फिल्मबाट बाहिर निस्कँदै थियो र नाना पाटेकर प्रहार, तिरङ्गा, अङ्कुश, र प्रतिघात जस्ता दमदार संवादले भरिएका सुपरहिट चलचित्रहरूको ज्वालामुखी लहरमा सवार थिए। उनका पात्रहरू स्वीट्जरलेण्डको बगैंचाका हिरोइनसँग रोमान्स गर्दैनथे; बरु भ्रष्टाचारविरुद्ध यस्ता कडा र मेसिनगन जस्ता डाइलगहरू फ्याँक्थे कि हामी ती संवादहरू कण्ठस्थ गरेर साथीभाइमाझ दोहोर्‍याउँथ्यौँ। तिनै नाना पाटेकर लाजिम्पाटको गल्लीमा छन् भन्ने सुन्दा म भेटनलाई आतुर भएँ।
म हतार–हतार दाह्री काट्न बाथरुम छिरेँ। जुँगालाई अलिकति मिलाएर आकर्षक बनाउने धुनमा हात चिप्लियो। एकतर्फ अलि बढी काटिएछ। त्यसलाई मिलाउन खोज्दा अर्कातर्फ पनि बढी काटियो। केही मिनेटभित्रै जुँगाको अस्तित्व नै समाप्त भयो र अन्त्यमा पुरै सफा (क्लिन शेभ) गर्नुको विकल्प रहेन। मेरो जीवनमा पहिलो पटक म पूर्ण रूपमा क्लिन शेभ भएको थिएँ। ऐनामा हेर्दा मेरो अनुहार ठ्याक्कै बोक्रा ताछेर उसिनेको अण्डा जस्तै देखिन्थ्यो। बलिउडकै सबैभन्दा कडा र रफटफ निगेटिव क्यारेक्टरको हिरोलाई भेट्न म कसरी यस्तो 'लभरब्वाई' जस्तो अनुहार लिएर जानु? असमंजस र लाजले पानी पानी हुदै भएँ।
आफ्नो लाजलाई दबाउँदै अन्ततः म शेखर दाको घरतिर लागेँ। जब म भित्र पसेँ, ती 'दिवा' लाई प्रत्यक्ष देखेँ, उनी आफ्नी आमा सुषमा कोइरालाको काखमा टाउको राखेर ओछ्यानमा आराम गरिरहेकी थिइन्। नमस्ते, हाई-हलो, सञ्चै हुनु हुन्छ पछि हामी संग बोल्ने अरु शब्द नै भेटिएको थिएन । सायद, शब्दहरु सकिएका थिए र आँखा अनवरत ति 'मानवरुपी देवकन्या'लाई निहारेर बसेको थियो । अहिले पनि संम्झिदा, त्यतिबेला मनिषाले यस्तो मन्त्रमुग्ध पार्ने र विषालु मुस्कान छरिन्, जसले जो कोहीलाई पनि तत्क्षण पागल बनाउन सक्थ्यो। खैर, उमेरले बिस नटेकेको ति बेलाका यंङ्गएडल्ट अहिलेको जेन्जीहरु भन्दा बढी भावुक र भावनात्मक हुन्थे/छन (जस्तो लाग्छ)।
त्यस समयमा उनी आफ्नो लोकप्रियताको चरम शिखरमा थिइन्। सौदागर, लवलेटर पछि विधु विनोद चोपडाको १९४२: ए लभ स्टोरी मा उनको अद्भूत सुन्दरताले पुरै उपमहाद्वीपलाई स्तब्ध बनाइसकेको थियो भने त्यही बेलै रिलिज भएको मणिरत्नमको उत्कृष्ट चलचित्र बम्बे मा उनको सशक्त अभिनयले उनलाई एक ऐतिहासिक आइकनको रूपमा स्थापित गरिसकेको थियो। उनलाई प्रत्यक्ष देख्दा लाग्थ्यो, उनी केवल एक स्टार मात्र थिइनन्, बरु एउटा सामान्य सिनेमाको फ्रेमलाई पनि मातिएर लठ्ठ पार्ने सपनामा बदल्न सक्ने क्षमता भएकी जादुगर थिइन्।
अनि, ठ्याक्कै त्यहीँ छेउमा किचेनको ढोकामा नाना पाटेकर उभिएका थिए । सोचेको भन्दा हाइट अलि कम, ब्लु जिन्स-ह्वाइट सर्ट । पर्दामा जस्तै दुरुस्तै, उत्तिकै गम्भीर र आफ्नै धुनमा मस्त। उनी हातमा शिखर चुरोट समातेर धुवाँ उडाउँदै आँखा सन्काउँदै थिए। यहाँ हाम्रो 'लेवल' पनि मिल्यो, हाम्रो औकात 'शिखर' भन्दा माथी उक्लिन सकेको थिएन भने उनका लागि यसले दुरुस्तै टिप दिने  भन्दै थिए (घाँसको गन्ध संग अनुभवहिन हामी त्यो स्टिकमा केहि मिक्समास गरेको भए थाहा पाएनौ) ।
हामीले हात मिलायौँ। उनको हातको पकड बलियो थियो र आँखाले मलाई नियालिरहेका थिए। उनको दिमागमा के चल्दै थियो कुन्नी, तर जब उनले मेरो थर 'झा' सुने, उनको अनुहारमा एउटा कलाकारले अर्को परिचितलाई चिने जस्तो चमक आयो। उनले तुरुन्तै मलाई उदित नारायण झासँग जोड्न खोजे, जसले त्यसबेला बलिउड पार्श्व गायनमा एकछत्र राज गरिरहेका थिए। मैले हाम्रो कुनै प्रत्यक्ष पारिवारिक सम्बन्ध नभएको कुरा स्पष्ट पारेँ, यद्यपि हामी एउटै मैथिल समुदायका हौँ भनी गर्वका साथ भनेँ।
त्यस समयमा भारतीय मिडियाहरू उदित नारायणको बारेमा बजारमा अनेकौँ सनसनीपूर्ण र नाटकीय गफहरू छाप्दै थिए। पत्रिकाहरूले नेपालमा परम्परागत विवाह गरेकी उनकी जेठी श्रीमती महिलासँगको कानुनी लडाइँ र अचानक आएका केहि महिला अधिकार संस्थाका कथाहरू निरन्तर छापिरहेका थिए। त्यहाँ उभिएर नानालाई हेरिरहँदा, 'झा' थरको चर्चाले मलाई बाल्यकालको नोस्टाल्जिया (स्मृति) मा पुर्‍यायो। मलाई मेरा दाजुहरूले उदितनारायणको वारेमा सुनाउने गरेका कथाहरू याद आए । कसरी मुम्बईको सङ्घर्षका दिनहरूमा उदितनारायण प्रेममा परेका थिए र विवाह गरेर गहतको झोल मा आफ्नो जात गुमाएर तिनका श्रीमतीको 'गहतराज' थर भएको थिए रे । पछि भलै त्यो बुझाइप्रति मनमनै हाँसो र ति दाईहरु प्रति रिस लागेर आयो। यो न कोट्याउ धेरै, यसमा गाम्भिर्यता थिएन छैन ।
आज ट्वीटरमा मनु दिदी (मनिषा) को एउटा थ्रेड उद्धृत गरेपछि, यी विगतका टुक्राहरू दशैँकै यो मन्द र चिन्तनशील माहोलमा ताजा भएर आए। व्यावसायिक लेखक वा पत्रकारहरूले यी कुराहरू पाएका भए यसमा थप तेल–मसला हालेर, राष्ट्रिय पत्रिकाहरूको बिशिष्ट अङ्कमा दशैं रेसिपी भनेर एउटा स्वादिष्ट 'छोइला'को परिकार जस्तै पस्कने थिए होलान्।
तर म यसलाई कुनै बनावटी रङ नदिई, जस्ताको तस्तै मेरो यस ब्लगमा सीमित राख्न चाहन्छु। आखिर, कुनै 'हिरो' लाई भेटेर प्रभावित हुनु र उनीहरूभित्रको एउटा वास्तविक, खोटसहितको 'हीरा' (मान्छे) लाई चिन्नुमा आकाश–पातालको फरक हुँदो रहेछ।
यद्यपि, राजनीतिक परिवेशमा आएको हालको तीतो यथार्थको अगाडि त्यो युगलाई सम्झिँदा मनमा एउटा खिन्नता छाउँछ। आधुनिक नेपालको राजनीतिका महानायक बी.पी. कोइरालाद्वारा स्थापित त्यो शक्तिशाली कोइराला परिवारको राजनीतिक पतन यति चाँडै र यसरी होला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। बी.पी. को लोकतान्त्रिक समाजवाद, साहित्यिक उचाई र अतुलनीय नैतिक शक्तिको विरासतले कुनै समय नेपालको आत्मालाई नै परिभाषित गर्थ्यो। बी.पी. को स्मृतिको छायामा हुर्कनु भनेको कोइराला नाम नै देशको नियति हो भन्ने विश्वास गर्नु जस्तै थियो।
तर पछि यस वंशमा पहिलो फाटोको विऊ रोप्ने काम गिरिजाबाबुले आफ्नी छोरीप्रतिको अत्यधिक मोहले पार्टीभित्र कहिल्यै निको नहुने नातावादको खाडल सिर्जना गरेर रोपे। यसलाई सुजाता 'मैसाप'को आफ्नो ज्वाइँलाई अघि बढाउने तीव्र राजनीतिक र आर्थिक लिप्साले थप मलजल गर्‍यो, जसले पार्टीका भुइँतहका कार्यकर्ताहरूलाई टाढा बनायो र परिवारको त्यागको इतिहासमा दाग लगायो।
अनि प्रकाश दा (मनु दिदीका बुबा) को एडभेन्चरस राजनीतिक यात्रा । राजतन्त्रको उत्तरार्धमा राजा ज्ञानेन्द्रसँगको आत्मघाती राजनीतिक सहकार्यको प्रयास । उनको राजनीतिक अध्याय सधैँका लागि त्यहीं समाप्त भयो, जुन पारिवारिक लोकतान्त्रिक जगभन्दा बिल्कुलै फरक र कहिल्यै सुध्रिन नसक्ने गल्ती थियो। बेला बेला मनु दिदीको झुकाव पनि राप्रपा तिर अझै देखिन्छ तर हरेक नागरिकको आफ्नो राजनीतिक/सामाजिक विचार हुन्छ, त्यसको आधारमा उसले कसैलाई सपोर्ट गर्ने र कसैलाई बिरोध वा आलोचना गर्ने हुन्छ । 
हामी सबैले एक अर्काको स्वतंत्र बिचारलाई सम्मान गर्न सक्नु पर्छ ।

समयले हाम्रा पात्रहरूलाई कसरी बदलिदिन्छ, यो अचम्मको कुरा हो। मुन'दा (शशांक कोइराला) लाई नै हेरौँ, जो एक प्रतिष्ठित नेत्र रोग विशेषज्ञ (अफ्थाल्मोजिस्ट सर्जन) हुन्। वास्तवमा, म पाँच वर्षको बालक छँदा विराटनगरमा मेरो आँखा पहिलो पटक जाँच्ने डाक्टर उनी नै थिए। मेरो नजरमा उनी चिकित्सा विज्ञानका एक ठुला बिशेषज्ञ र सम्मानित व्यक्ति हुन। तर समयको फेरबदलले उनलाई अर्कै यथार्थमा पुर्‍यायो; बदलिँदो नेपालको तीव्र गतिले उनलाई छेउ लगायो र उनी पुरानो पुस्ताको अवशेष जस्तै, गुट्खा चपाउँदै र थुक्दै राजनीतिक रूपमा ओझेल पर्दै गएका देखिन्छन।
जहाँसम्म शेखर दाको कुरा छ, जो त्यो अविस्मरणीय साँझका होस्ट (आयोजक) थिए, उनको खुट्टा मुनिको राजनीतिक जमिन पनि धेरै पहिले नै खस्किसकेको छ। आधुनिक राजनीतिको रूपरेखाले पुराना पारिवारिक हिसाब-किताबहरूलाई धेरै पछि छाडिसकेको छ। आज, कोइराला परिवारको त्यो विशाल र ऐतिहासिक राजनीतिक विरासतलाई अगाडि बढाउने कोही पनि बाँकी छैन, न त कसैमा त्यो गम्भीरता वा क्षमता नै देखिन्छ। यो वंश, व्यावहारिक रूपमा, आफ्नो शान्त उत्तरार्धमा पुगिसकेको छ।
शरद ऋतुको यो नोस्टाल्जिक माहोलमा अतीतको यो गहिरो र भारी बालुवालाई थोरै थोरै कोट्याउनु नै वेश होला। फेरि अर्को कुनै मोहक शिर्षक सम्झिदा, लिएर यतै हाजिर हुनेछु ।
धन्यवाद मनु दिदी, त्यो आत्मीयताका लागि। धन्यवाद नाना भाई, चुरोटको धुवाँसँगै जोडिएको त्यो सम्झनाका लागि, जसले मेरो हुर्किदै गरेको जवानीको एउटा पाटोलाई परिभाषित गर्‍यो।
हामी सबैमा दशैँको अग्रिम हार्दिक शुभकामना।